काठमाडौं — शेर्पा समुदायको मौलिक कला, संस्कृति र परम्परागत नृत्यलाई विश्वभर चिनाउने उद्देश्यले ‘शब्डाे डान्स कम्पिटिसन सिजन–२’ आयोजना हुने भएको छ। अमेरिकामा बसोबास गर्दै आएका शेर्पा युवाहरूको पहलमा आयोजना हुन लागेको प्रतियोगिताको अडिसन अक्टोबर १८ र १९ मा टिकटकमार्फत प्रत्यक्ष प्रसारण हुने भएको हो।
‘शेर्पा डान्सिङ ट्यालेन्ट शो’को प्रस्तुतिमा हुने प्रतियोगिताको अडिसन न्युयोर्क समयअनुसार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
उमेरको सीमा छैन
प्रतियोगितामा सहभागी हुन उमेरको सीमा तोकिएको छैन। नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका शेर्पा समुदायका व्यक्तिले सहभागिता जनाउन सक्नेछन्। सहभागीले आफ्नो परिचय आफ्नै मौलिक भाषामा दिनुपर्नेछ भने नृत्य प्रस्तुति गर्दा अनिवार्य रूपमा शेर्पा पोशाक लगाउनुपर्ने आयोजकको नियम छ।
प्रतियोगीले शेर्पा संस्कृतिसँग सम्बन्धित गीतमा नृत्य तथा अभिनय प्रस्तुत गर्नुपर्नेछ। एकल वा बढीमा तीन जनासम्मको समूहमा नृत्य प्रस्तुत गर्न सकिनेछ।
नृत्य प्रस्तुतिका लागि आवश्यक साउन्डकार्डको व्यवस्था नभएमा प्रयोग गरिने गीतको बोल आयोजक समितिलाई अग्रिम जानकारी गराउनुपर्नेछ।
विजेतालाई ७ सय डलरसम्म पुरस्कार
प्रतियोगितामा प्रथम हुनेले ७ सय अमेरिकी डलर, द्वितीयले ५ सय डलर, तृतीयले ३ सय डलर र चौथो हुनेले २ सय डलर नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
‘हाम्रो शेर्पा नृत्य र सांस्कृतिक सम्पदाको संरक्षण गरौं, हाम्रो पहिचान र परम्परागत मूल्यहरूलाई सदा जीवित राखौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक टिमका मिङमार शेर्पा, पासाङ शेर्पा र आङ ङिमा शेर्पासँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
शब्ड्राे डान्स कम्पिटिसन सिजन–२ : विजेताले पाउनेछन् ७ सय डलरसम्म
शब्ड्राे डान्स कम्पिटिसन सिजन–२ : विजेताले पाउनेछन् ७ सय डलरसम्म

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





