सोलुखुम्बु — आगामी असोज ८ देखि १२ गतेसम्म अत्यधिक भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि सोलुखुम्बुमा विपद् पूर्वतयारीलाई तीव्र पारिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी, पहिरो, डुबान तथा हिमपहिरोजस्ता सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट भएका निर्णय तथा आगामी दिनमा जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिले गर्नुपर्ने कार्यबारे सरोकारवाला निकायसँग छलफल गरी आवश्यक तयारी अघि बढाइएको हो।
बैठकले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ अनुसार विपद् पूर्वतयारीका सबै काम कार्यान्वयन गर्ने निर्णय गरेको छ। भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै स्थानीय तह, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य गरी विपद् पूर्वतयारी, प्रतिकार्य तथा आपत्कालीन अवस्थाका लागि उच्च सतर्कता अपनाउन भनिएको छ।
स्थानीय तह र उद्योग वाणिज्य संघ तथा नेपाल रेडक्रस सोसाइटीलाई अत्यावश्यक खाद्य सामग्री तथा गैरखाद्य सामग्रीको आवश्यक भण्डारण गर्न आग्रह गरिएको छ। सम्भावित विपद्का घटनामा घाइते तथा प्रभावितलाई तत्काल उपचार तथा उद्धार गर्न जिल्ला अस्पताल फाप्लुसहित स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री, फर्स्ट एड किट तथा आवश्यक औषधि तयारी अवस्थामा राख्न भनिएको छ।
त्यस्तै खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा इकाइलाई आवश्यक सामग्रीसहित तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ। खानेपानी, विद्युत्, सञ्चार तथा स्वास्थ्यलगायत अत्यावश्यक सेवा प्रवाहमा अवरोध आउन नदिन सम्बन्धित कार्यालयलाई पूर्वतयारी गर्न भनिएको छ।
विपद् सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले ‘डिजास्टर फोकल पर्सन’ तोकेर सम्बन्धित निकायलाई जिल्ला प्रशासन कार्यालयको ह्वाट्सएप समूहमा नियमित रूपमा अद्यावधिक गर्न निर्देशन दिएको छ।
सम्भावित विपद्का बेला तत्काल प्रयोग गर्न सकिने खुला क्षेत्र, सुरक्षित आश्रयस्थल, हेलिप्याड, गोदामघर, दमकल, एम्बुलेन्स, स्काभेटर तथा दुई पाङ्ग्रे/चार पाङ्ग्रे सवारीसाधन र चालकसमेत तयारी अवस्थामा राख्न स्थानीय तहलाई भनिएको छ।
बैठकले विपद्सम्बन्धी पूर्वसूचना तथा सचेतनामूलक सामग्री समय–समयमा सञ्चारमाध्यममार्फत प्रसारण गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुसँग समन्वय गर्ने निर्णयसमेत गरेको छ।
यसैबीच, थुलुङ दूधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको दिप्लीघाटस्थित दूधकोशी नदीमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको पिल्लर (फाउन्डेसन) को बेस भासिँदै गएको जनाउँदै तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको छ। पुल थप जोखिममा परे सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिकालगायतका क्षेत्रको यातायात सम्पर्क प्रभावित हुनसक्ने भन्दै गृह मन्त्रालयमार्फत सम्बन्धित निकायलाई तत्काल मर्मतका लागि अनुरोध पठाउने निर्णय गरिएको हो।
भारी वर्षाको सम्भावनापछि सोलुखुम्बुमा उच्च सतर्कता
भारी वर्षाको सम्भावनापछि सोलुखुम्बुमा उच्च सतर्कता

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





