सोलुखुम्बु । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्ने नेचासल्यान गाउँपालिकाले जनाएको छ।
नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले एक अपिल जारी गर्दै बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत सीमा जोडिएका जिल्लामा समेत प्रभाव परेको भन्दै विपद्ब बाट जनधनमा भएकाे क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा नेचासल्यान गाउँपालिकाका नागरिकहरू व्यापार–व्यवसाय, शिक्षण–अध्यापन तथा विभिन्न पेसा वा व्यवसायको सिलसिलामा रहेको हुनसक्ने भन्दै गाउँपालिकाले उनीहरूको अवस्थाप्रति चासो व्यक्त गरेको हो।
गाउँपालिकाले प्रभावित क्षेत्रमा रहेका नागरिकलाई कुनै किसिमको समस्या वा आपत्–विपद्मा परेको भए तत्काल गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसँग सम्पर्क गर्न आग्रह गरेको छ।
साथै, विपद्का समयमा आवश्यक सहयोग, उद्धार तथा समन्वयका लागि गाउँपालिकाले सक्दो सहजीकरण गर्ने प्रतिबद्धता अध्यक्ष राईले व्यक्त गर्नुभएको छ।
गाउँपालिकाले जारी गरेको अपिलमा प्रभावित क्षेत्रमा रहेका नागरिकको अवस्थाबारे जानकारी गराउन तथा समस्या परेमा तत्काल सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।






