सोलुखुम्बु — वर्षासँगै जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा सडक, घर तथा विद्यालयमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज १० गतेसम्म पहिरोको जोखिममा परेका १२ घर र एउटा ग्यारेज छन्। जोखिममा रहेका परिवारमध्ये १९ महिला र २० पुरुष गरी ३९ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
सोलुदुधकुण्ड नगरपालिका–८ स्थित आङ्पाङ महेन्द्रज्योति आधारभूत विद्यालयमा माथिबाट खसेको पहिरोले दुई कोठा पूर्ण रूपमा क्षति गरेको छ। ती कोठामा रहेका १४ कम्प्युटर, दराज र टेबलसमेत क्षतिग्रस्त भएका छन्।

सोलुदुधकुण्ड–२ जुनबेशीमा चुङ्बा छिरिङ लामाको घरमाथिबाट पहिरो खसेर घर जोखिममा परेको छ। तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।
यस्तै, सोलुदुधकुण्ड–३ फलामखानी नजिक तथा सल्लेरी आउने सडकमा तीन–चार ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाइएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका–१ पैयास्थित ङिम दोर्जी सडकखण्डमा पहिरो तथा ढुंगा खस्दा खरिखोलाबाट वडा नं. २ सुर्केतर्फ जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउन गाउँपालिका र वडा कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
महाकुलुङ गाउँपालिका–१ छेक्मास्थित बुङ बजारदेखि साब्दीतर्फ जाने भित्री कच्ची सडकमा पहिरो खस्दा बलजित राईको घर जोखिममा परेको थियो। घरमा रहेका एक महिला र दुई पुरुषलाई नजिकैको अर्को घरमा सारिएको छ। पालिकाको जेसिबी प्रयोग गरी सडक खुलाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विपद्का घटनाबाट दलित जागरण सेवा समाजको एउटा भवन पूर्ण रूपमा क्षति भएको छ। जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।





