काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाको अनुगमन गर्न पुगेको आयोगको टोलीलाई प्रहरी परिसरमै रोकिएको भन्दै आपत्ति जनाएको छ।
आयोगले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न नेपाल प्रहरीलाई आग्रह गरेको हो।
जबरालाई पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले घटनाको अनुगमनका लागि आयोगका माननीय सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली टेकुस्थित प्रहरी परिसर पुगेको जनाएको छ। तर, आयोगको टोलीलाई नेपाल प्रहरीले जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाएको आयोगको भनाइ छ।
अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दा समेत आयोगको टोलीलाई अनुगमन गर्न नदिनुको कारणबारे स्पष्ट जानकारी नदिइएको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ (क) मा सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्न सक्ने र मानव अधिकार संरक्षणका लागि सम्बन्धित निकायलाई आवश्यक सुझाव तथा निर्देशन दिन सक्ने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।
आफूलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारअनुसार अनुगमनमा गएको आयोगको टोलीलाई रोक्नु उक्त अधिकारविपरीत भएको भन्दै आयोगले नेपाल प्रहरीको व्यवहारप्रति खेद व्यक्त गरेको छ।
आयोगले घटनाबारे निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
आयोगको अनुगमन टोलीलाई प्रहरी परिसरमै रोकिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
आयोगको अनुगमन टोलीलाई प्रहरी परिसरमै रोकिएको भन्दै मानव अधिकार आयोगको आपत्ति

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





