काठमाडौं — सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले काठमाडौंमा सञ्चालन गरेको दुईदिने सेवा प्रवाह शिविरमा ५ सय १३ जनाले विभिन्न सेवा लिएका छन् ।
गाउँपालिकाले काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा भदौ १४ र १५ गते सञ्चालन गरेको शिविरमा गाउँपालिकाका पाँचवटै वडाबाट काठमाडौंमा रहेका नागरिक सहभागी भएका थिए । गाउँमै पुगेर सेवा लिन नसक्ने तथा काठमाडौंमा बसोबास गरिरहेका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको सार्वजनिक तथ्यांकअनुसार शिविरमा सबैभन्दा बढी सामाजिक सुरक्षा नवीकरणका १ सय ७६ सेवा प्रवाह भएका छन् । त्यस्तै मालपोत दस्तुरसम्बन्धी १ सय ६०, अन्य सिफारिस ५०, राष्ट्रिय परिचयपत्रको कार्ड वितरण ३७, जन्मदर्ता २५ र व्यक्तिगत घटना दर्ताको प्रतिलिपि १३ वटा सेवा प्रदान गरिएको छ ।
शिविरमा विवाह दर्ता १२, ज्येष्ठ नागरिक परिचयपत्र ११, नागरिकता सिफारिस ९, बसाइँसराइ ७, नाता प्रमाणित ६, सम्बन्धविच्छेद ४ र मृत्युदर्ताका तीनवटा सेवा प्रदान गरिएको तथ्यांकमा उल्लेख छ ।
गाउँपालिकाका अनुसार शिविरबाट ६७ हजार २० रुपैयाँ राजस्व समेत संकलन भएको छ ।
स्थानीय तहबाटै प्राप्त गर्न सकिने प्रशासनिक तथा सामाजिक सुरक्षा सेवाका लागि नागरिकले गाउँसम्म पुग्नुपर्ने अवस्थालाई सहज बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । काठमाडौंमा रहेका गाउँपालिकाका बासिन्दालाई लक्षित गरी गरिएको शिविरले सेवा लिन गाउँ फर्किनुपर्ने बाध्यता केही हदसम्म घटाएको गाउँपालिकाको भनाइ छ ।
गाउँपालिकाले यसअघि पनि काठमाडौंमा रहेका सेवाग्राहीलाई लक्षित गरी विभिन्न सेवा प्रवाह गर्दै आएको जनाएको छ । आगामी दिनमा आवश्यकताका आधारमा यस्ता सेवा शिविरलाई निरन्तरता दिने तयारी रहेको गाउँपालिकाले जनाएको छ।
काठमाडौंमा नेचासल्यानको सेवा शिविर, ५ सय १३ सेवाग्राहीले लिए सेवा
काठमाडौंमा नेचासल्यानको सेवा शिविर, ५ सय १३ सेवाग्राहीले लिए सेवा

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





