ओखलढुंगा— स्थानीय बासिन्दाको सामूहिक पहल र श्रमदानबाट ओखलढुङ्गाकाे महादेव खोलाको पैरेमा काठे पुल निर्माण सम्पन्न भएको छ। पुल निर्माणसँगै स्थानीयवासीले विशेष समारोह आयोजना गरी नवनिर्मित पुलको उद्घाटन गरेका छन्।
पुल निर्माणका लागि देश तथा विदेशमा रहेका नेपालीबाट आर्थिक सहयोग जुटाइएको थियो। स्थानीय दाजुभाइ तथा दिदीबहिनीले भने गाउँमै उपस्थित भएर निरन्तर श्रमदान गर्दै पुल निर्माणमा योगदान दिएका थिए। स्थानीय सरकारसँगको समन्वय र सहयोगमा पुल निर्माण अभियान सफल भएको निर्माण अभियान समितिले जनाएको छ।

पुल उद्घाटनका अवसरमा अभियान समितिले आर्थिक सहयोग गर्ने सहयोगीदाता, निर्माणमा खटिएका श्रमदाता, स्थानीय बासिन्दा तथा स्थानीय सरकारप्रति धन्यवाद व्यक्त गरेको छ।
‘यो पुल काठ र डोरीले बनेको सामान्य संरचना मात्र होइन, हाम्रो एकता, आपसी सहयोग र सामूहिक जिम्मेवारीको प्रतीक हो,’ अभियानमा संलग्न एक प्रतिनिधिले भने।
पैरेमा पहिलो पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासी थप उत्साहित भएका छन्। अभियानलाई निरन्तरता दिँदै दोस्रो पुल निर्माणको तयारी अघि बढाउने घोषणा गरिएको छ।
श्रम संस्कृति पार्टी कोशी प्रदेशका सहसचिव किशोर सुनुवारले सामूहिक एकता र श्रमदानको भावनालाई निरन्तरता दिँदै अब दोस्रो पुल निर्माणतर्फ अघि बढ्ने बताएका छन्।






