सोलुखुम्बु — अदालतबाट कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय ठहर भएपछि १६ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।
थुलुङ दूधकोशी गाउँपालिका–१ नेलेका ३३ वर्षीय सन्तोष खत्रीलाई काठमाडौंको बौद्ध क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
सोलुखुम्बु जिल्ला अदालतले २०६७ पुस ५ मा गरेको फैसलाबाट खत्रीलाई कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय सुनाएको थियो। फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार थिए।
बौद्ध क्षेत्रमा लुकीछिपी बसिरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको टोलीले प्रहरी वृत्त बौद्ध, काठमाडौंको समन्वयमा भदौ २८ गते उनलाई पक्राउ गरेको हो।
पक्राउपछि फैसला कार्यान्वयन तथा कैद र जरिवाना भुक्तानीका लागि भदौ ३० गते उनलाई सोलुखुम्बु जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार उनलाई सोही दिन कारागार कार्यालय, सोलुखुम्बुमा चलान गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी निर्मल थापाले फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादीको खोजीलाई तीव्र पारिएको बताए।
‘अदालतबाट मुद्दा फैसला भइसकेपछि पनि सजाय भुक्तान नगरी फरार रहेका व्यक्तिहरूको खोजीलाई प्राथमिकतामा राखेका छौं,’ थापाले भिडियो सन्देशमार्फत भने, ‘नयाँ लगत निकालेर खोजी कार्य तीव्र पारिएपछि १६ वर्षअघि फैसला भएको कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई काठमाडौंमा पक्राउ गरी कारागार चलान गर्न सफल भएका हौं।’
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका अन्य प्रतिवादीको समेत खोजी भइरहेको जनाएको छ। फैसला कार्यान्वयन अभियानलाई निरन्तरता दिँदै उनीहरूलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।
कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका खत्री १६ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका खत्री १६ वर्षपछि पक्राउ

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





