सोलुखुम्बु । नेपाल सरकारका पूर्व मुख्यसचिव तथा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले आफूले अध्यापन गराएको सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ स्थित श्री कालिका आधारभूत विद्यालयमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन्।
विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने उद्देश्यले पोखरेल र उनकी श्रीमती अमुदा पोखरेलले संयुक्त रूपमा रु. ३ लाखको अक्षयकोष स्थापना गर्न लागेका हुन्। विद्यालय र पोखरेल दम्पतीबीच भएको सम्झौताअनुसार अक्षयकोषको रकम विद्यालयको खातामा जम्मा गरिनेछ।
विद्यालयका पूर्व प्रधानाध्यापकसमेत रहेका पोखरेलले आफ्ना पूर्व विद्यार्थी स्वर्गीय लक्ष्मीप्रसाद शर्मा र स्वर्गीय गंगादेवी शर्माको स्मृतिमा अक्षयकोष स्थापना गर्न लागेको सम्झौतापत्रमा उल्लेख छ। अक्षयकोषको नाम ‘पूर्व विद्यार्थी स्वर्गीय लक्ष्मीप्रसाद शर्मा र पूर्व विद्यार्थी स्वर्गीय गंगादेवी शर्मा स्मृति अक्षयकोष २०८३’ रहने जनाइएको छ।
सम्झौताअनुसार अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमको निश्चित हिस्सा विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक प्रोत्साहनमा प्रयोग गरिनेछ। विशेषगरी कक्षा ५ मा उत्कृष्ट नतिजा हासिल गर्ने एक छात्र र एक छात्रालाई प्रोत्साहनस्वरूप पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको छ।
अक्षयकोषको मुख्य उद्देश्य विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु रहेको विद्यालयले जनाएको छ। अक्षयकोष स्थापना सम्बन्धी सम्झौतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकप्रसाद कटेल, प्रधानाध्यापक होमप्रसाद कटेल तथा अक्षयकोष स्थापनाकर्ता भोजराज पोखरेलले हस्ताक्षर गरेका छन्।
पूर्व मुख्यसचिव तथा पूर्व निर्वाचन आयुक्त पोखरेलले आफ्नो पुरानो विद्यालयमा अक्षयकोष स्थापना गर्न लागेको कार्यलाई स्थानीय शैक्षिक क्षेत्रसँग जोडिएको दीर्घकालीन योगदानका रूपमा हेरिएको छ। यसले विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्नुका साथै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पूर्व मुख्यसचिव भोजराज पोखरेलकाे माया कर्मभुमीमा, विद्यालयमा तीन लाखको अक्षयकोष स्थापना
पूर्व मुख्यसचिव भोजराज पोखरेलकाे माया कर्मभुमीमा, विद्यालयमा तीन लाखको अक्षयकोष स्थापना

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





