सोलुखुम्बु — नेचासल्यान कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको आय–व्यय सार्वजनिक गरिएको छ। नेचासल्यान गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महोत्सवमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरिएको हो।
उद्योग वाणिज्य संघ नेचाका अध्यक्ष हेमराज भट्टराईको अध्यक्षता तथा नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
गत वैशाख २६ देखि २८ गतेसम्म आयोजना गरिएको महोत्सव उद्योग वाणिज्य संघ नेचाको आयोजनामा तथा नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको थियो। महोत्सवका लागि सोलुखुम्बुका विभिन्न स्थानीय तह, संघ–संस्था तथा व्यक्तिहरूबाट गरी २९ लाख ९० हजार ७ सय ५० रुपैयाँ संकलन भएको विवरण सार्वजनिक गरिएको छ। जसमध्ये नेचासल्यान गाउँपालिकाले मात्रै १२ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ।
महोत्सवमा भने ३३ लाख १९ हजार ४ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ। सार्वजनिक विवरणअनुसार महोत्सवको आम्दानीभन्दा खर्च ३ लाख २८ हजार ७ सय ३५ रुपैयाँ बढी देखिएको छ।
महोत्सवका क्रममा स्थानीय कलाकारको पारिश्रमिक, पुरस्कार, स्टेज तथा साउन्ड सिस्टम, खाना–खाजा, स्टल निर्माण, कलाकार तथा काठमाडौँको सहजीकरण टोलीको यातायात, प्रेस तथा प्रचार–प्रसार, सम्मान तथा मायाको चिनो, टी–सर्ट, म्याराथनलगायतका विभिन्न शीर्षकमा खर्च भएको विवरण प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष धनजन राईले महोत्सवले नेचासल्यानको पहिचानलाई थप स्थापित गर्नुका साथै स्थानीय व्यवसायी तथा कृषकको आयस्तरमा समेत सकारात्मक प्रभाव पारेको बताए। स्थानीय उत्पादन, कृषि, पर्यटन र व्यवसायको प्रवर्द्धनमार्फत जनताको आयस्तर वृद्धि गर्न गाउँपालिका विभिन्न संघ–संस्थासँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले महोत्सवबाट प्राप्त उपलब्धि, अनुभव र प्रभावलाई आगामी दिनका लागि उपयोगी हुने गरी दस्तावेजका रूपमा तयार गरी गाउँपालिकामा सुरक्षित राख्न माग गरेका छन्। उनीहरूले महोत्सवबाट स्थानीय कृषि उत्पादन, पर्यटन तथा संस्कृतिको प्रवर्द्धनमा भएको योगदानको संस्थागत अभिलेख आवश्यक रहेको बताएका थिए।
महोत्सवले स्थानीय कृषि उपज, पर्यटन सम्भावना, कला–संस्कृति र व्यवसायलाई एउटै मञ्चमा जोड्दै नेचासल्यानको पहिचान प्रवर्द्धनमा योगदान पुर्याएको आयोजकको भनाइ छ।
नेचासल्यान कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको आय–व्यय सार्वजनिक
नेचासल्यान कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको आय–व्यय सार्वजनिक

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





