सोलुखुम्बु — लगातारको वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध हुनुका साथै बस्ती तथा घरहरू जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार असोज ९ गते जिल्लाका विभिन्न स्थानमा पहिरोसम्बन्धी १५ वटा घटना विवरण प्राप्त भएका छन्।
पहिरोको जोखिममा परेका केही परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। थुलुङ दूधकोशी गाउँपालिका–७ लुरुवामा विष्णुबहादुर खत्रीको घरमा बस्दै आएका पाँच जना, झगरसिंह खत्रीको घरमा रहेका चार जना तथा झमकसिंह खत्रीको परिवारलाई जोखिमका कारण सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई सम्भुस्थित वस्तु गोठमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै सोलु दूधकुण्ड नगरपालिका–८ चिम्दिङका चार घर पहिरोको जोखिममा परेपछि त्यहाँका परिवारलाई आफन्त तथा छिमेकीको घरमा सारिएको छ। धनबहादुर श्रेष्ठ, कृष्ण श्रेष्ठ, मंगल तामाङ र गोपाल श्रेष्ठका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।
सोलु दूधकुण्ड नगरपालिका–३ माठुङमा आङफुरी शेर्पाको घरमाथिबाट पहिरो खसेपछि घर जोखिममा परेको छ। दुई सदस्यीय उनको परिवारले दावा शेर्पाको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ। वडा नम्बर ८ भस्मेमा याङ्जी तामाङको घर पनि पहिरोको जोखिममा परेपछि एक पुरुष र एक महिलालाई निरिमाया तामाङको घरमा स्थानान्तरण गरिएको छ।
सोलु दूधकुण्ड नगरपालिका–६ जिरोपोइन्टमा पनि पहिरोका कारण चार घर जोखिममा परेका छन्। बिनोद तामाङ, सोम्बा शेर्पा, रामकाजी विक र टेकबहादुर मगरको घरमा तत्काल स्थानान्तरण आवश्यक नरहेको प्रहरीले जनाएको छ। थप पहिरो गएमा समन्वय गरी सुरक्षित स्थानमा सारिने बताइएको छ।
पहिरोका कारण जिल्लाका विभिन्न सडकखण्डसमेत प्रभावित भएका छन्। थुलुङ दूधकोशी–८ रनेमस्थित नेले–सोताङ सडकखण्डमा पहिरो खसेपछि सानो सवारीसाधन सञ्चालन हुने गरी बाटो खुलाइएको छ। माप्य दूधकोशी गाउँपालिका–१ छिर्दी बगरमा पहिरो खसेर खुम्बु पर्यटक सडकखण्ड अवरुद्ध भएको छ। उक्त सडक खुलाउन प्रहरी र वडा कार्यालयबीच समन्वय भइरहेको छ।
सोलु दूधकुण्ड नगरपालिका–५ सिद्धिचरण लोकमार्गको आवा डाँडामा सडक चर्किएपछि एकतर्फी यातायात सञ्चालन भइरहेको छ। सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। सोही नगरपालिकाको बासा मोडमा पहिरो खसेर अवरुद्ध सडक नगरपालिकाको जेसीबी प्रयोग गरी १६ः३० बजे सञ्चालनमा ल्याइएको थियो।
सोलु दूधकुण्ड नगरपालिका–८ सेतो बन्ढारेमा पहिरोका कारण अवरुद्ध सिद्धिचरण लोकमार्ग १७ः५० बजे खुलाइएको प्रहरीले जनाएको छ। नगरपालिका–३ तामाखानी र फलामखानीको सीमामा पहिरो खसेर अवरुद्ध भएको भित्री सडक पनि साँझ ६ बजे सञ्चालनमा आएको थियो।
सोलु दूधकुण्ड नगरपालिका–११ साल्मेमा सिद्धिचरण लोकमार्ग सडक भासिएर पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय हर्कपुरसँग समन्वय गरी सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच सोलु दूधकुण्ड नगरपालिका–४ वासा मोडभन्दा माथिबाट पहिरो खस्दा खेमराज मोटर ग्यारेजसमेत जोखिममा परेको छ। त्यहाँ कार्यरत कामदारलाई सुरक्षित स्थानमा पठाइएको प्रहरीले जनाएको छ।
सोलु दूधकुण्ड नगरपालिका–१० सिसाखोलामा दलित जागरण सेवा समाजको तले, ढुंगामाटो र टिनको छानो भएको एकतले घर पहिरोले बगाउँदा पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ।
महाकुलुङ गाउँपालिका–४ गुदेलमा आशिषप्रसाद राईलगायत पाँच जनाको घर पहिरोका कारण जोखिममा परे पनि तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था नरहेको प्रहरीको विवरणमा उल्लेख छ। उनीहरू सोही घरमा बसोबास गरिरहेका छन्।
प्रहरीका अनुसार पहिरो प्रभावित तथा जोखिममा रहेका स्थानमा सुरक्षा टोली परिचालन गरिएको छ। जोखिमको अवस्था हेरी स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने र आवश्यक परे प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ।
सोलुखुम्बुमा बर्षाकाे बितण्डा : सडक अवरुद्ध, ११ परिवार जोखिममा
सोलुखुम्बुमा बर्षाकाे बितण्डा : सडक अवरुद्ध, ११ परिवार जोखिममा

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





