डिल्ली शर्मा
साेलुखुम्बु ,नेचासल्यान गाउँपालिकाले काठमाडौं उपत्यकामा अस्थायी रूपमा बसोबास गर्दै आएका गाउँपालिकावासीलाई लक्षित गरी एकीकृत सेवा प्रवाह शिविर सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार २०८३ साल भदौ १४ र १५ गते काठमाडौंको सुकेधारास्थित नव दुर्गा पार्टी प्यालेसमा शिविर सञ्चालन हुनेछ। शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकामा स्थायी ठेगाना भए पनि अध्ययन, रोजगारीलगायत विभिन्न कारणले काठमाडौं उपत्यकासहित जिल्लाबाहिर अस्थायी रूपमा बसोबास गरिरहेका नेचासल्यानवासीलाई गाउँपालिकाबाट प्रदान गरिने सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो।
शिविरमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमि कर संकलन, जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्धविच्छेदसम्बन्धी पञ्जीकरण सेवा उपलब्ध गराइनेछ।
त्यस्तै, राष्ट्रिय परिचयपत्रको कार्ड वितरण, ज्येष्ठ नागरिक परिचयपत्र तथा वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सिफारिससमेत शिविरबाट उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ। राष्ट्रिय परिचयपत्रतर्फ २०८० सालभन्दा अगाडि फाराम भरेका र जिल्ला प्रशासन कार्यालयमा तयार भएका कार्डसमेत वितरण गरिने सूचनामा उल्लेख छ।
यसैगरी मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका तथा क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्चबापत मासिक रु. ५ हजार प्राप्त गर्ने सेवाग्राहीको नवीकरणसमेत शिविरबाट गरिनेछ।
गाउँपालिकाले काठमाडौं उपत्यकालगायत जिल्लाबाहिर अस्थायी रूपमा बसोबास गरिरहेका सम्पूर्ण नेचासल्यानवासीलाई शिविरमा सहभागी भई सेवा लिन आग्रह गरेको छ। थप जानकारीका लागि सम्बन्धित वडा अध्यक्ष तथा वडा सचिवसँग सम्पर्क गर्नसमेत गाउँपालिकाले अनुरोध गरेको छ।
नेचासल्यान गाउँपालिकाले यसअघि पनि काठमाडौंमा एकीकृत सेवा शिविर सञ्चालन गरेको थियो। अघिल्लो शिविरमा काठमाडौंमा रहेका नेचासल्यानवासीलाई लक्षित गरी विभिन्न सरकारी सेवा एकै ठाउँबाट उपलब्ध गराइएको थियो।
काठमाडौंमा नेचासल्यान गाउँपालिकाको सेवा प्रवाह शिविर, भदाै १४ र १५ गते सञ्चालन हुने
काठमाडौंमा नेचासल्यान गाउँपालिकाको सेवा प्रवाह शिविर, भदाै १४ र १५ गते सञ्चालन हुने

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




