सोलुखुम्बु — खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक तथा पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिको विवरण अनिवार्य रूपमा अभिलेख राख्न पर्यटन व्यवसायीलाई निर्देशन दिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै पर्यटकको आवागमन व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन होटल, लज, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायीलाई यस्तो निर्देशन दिएको हो।
गाउँपालिकाका अनुसार पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा प्रवेश गर्ने पर्यटकको संख्या बढेकाले उनीहरूको यथार्थ विवरण अद्यावधिक राख्न आवश्यक भएको हो। खुम्बु भ्रमणमा आउने–जाने पर्यटकको अभिलेख गाउँपालिकाका लुक्ला तथा मन्जो चेकपोस्टमा राखिने व्यवस्था रहे पनि थप व्यवस्थित अभिलेखका लागि पर्यटन व्यवसायीलाई आफ्ना प्रतिष्ठानमा विवरण सुरक्षित राख्न भनिएको छ।
गाउँपालिकाले सम्भावित प्राकृतिक विपद् तथा अन्य अप्रत्याशित जोखिमका समयमा खोज, उद्धार तथा राहत कार्य प्रभावकारी बनाउनसमेत पर्यटक र कार्यरत जनशक्तिको विवरण आवश्यक रहेको जनाएको छ। पर्यटक क्षेत्रलाई सुरक्षित, पारदर्शी, व्यवस्थित र मर्यादित बनाउन अभिलेख प्रणालीलाई प्रभावकारी बनाउन लागिएको गाउँपालिकाको सूचनामा उल्लेख छ।
निर्देशनअनुसार विदेशी पर्यटकको हकमा पूरा नाम, राहदानी नम्बर, राष्ट्रियता, आगमन मिति, प्रस्थान मिति र आगामी गन्तव्यको विवरण राख्नुपर्नेछ।
त्यस्तै, ट्रेकिङ एजेन्सीमार्फत आएका पर्यटकको हकमा सम्बन्धित एजेन्सीको नाम र सम्पर्क नम्बरसमेत अभिलेखमा राख्नुपर्नेछ। स्वदेशी पर्यटक, गाइड तथा भरियाको हकमा पूरा नाम, स्थायी ठेगाना, आगमन तथा प्रस्थान मिति र आगामी गन्तव्य खुलाउनुपर्ने गाउँपालिकाले जनाएको छ।
पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिको हकमा भने पूरा नाम, स्थायी ठेगाना, सम्पर्क नम्बर र कुनै परिचय खुल्ने कागजातको विवरण राख्न भनिएको छ।
गाउँपालिकाले सम्बन्धित व्यवसायीलाई यी विवरण आफ्नै प्रतिष्ठानमा सुरक्षित तथा व्यवस्थित रूपमा अभिलेख राख्न र आवश्यक परेको अवस्थामा गाउँपालिका, वडा कार्यालय, सुरक्षा निकाय वा सम्बन्धित सरकारी निकायलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ।
अनुगमनका क्रममा पर्यटक तथा कार्यरत जनशक्तिको विवरण अभिलेख नराखेको, अद्यावधिक नगरेको वा अभिलेख व्यवस्थापनमा लापरबाही गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने गाउँपालिकाले चेतावनी दिएको छ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीद्वारा जारी सूचनामा सुरक्षित, जिम्मेवार, पारदर्शी तथा व्यवस्थित पर्यटन प्रवर्द्धनका लागि सबै सम्बन्धित व्यवसायीबाट अनिवार्य सहयोगको अपेक्षा गरिएको छ।
खुम्बु पासाङल्हामुमा पर्यटकको अभिलेख राख्न पर्यटन व्यवसायीलाई गाउँपालिकाको निर्देशन
खुम्बु पासाङल्हामुमा पर्यटकको अभिलेख राख्न पर्यटन व्यवसायीलाई गाउँपालिकाको निर्देशन

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





