सोलुखुम्बु — सगरमाथा क्षेत्रको वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनमा सक्रिय सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)को ३३औँ वार्षिक साधारण आज सम्पन्न भएकाे छ।सभाले लामा काजी शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा डोल्मा छिरीङ शेर्पा, महासचिवमा पेम्बा छिरी शेर्पा र कोषाध्यक्षमा ङिमा नुरू शेर्पा चयन भएका छन्। सदस्यहरूमा आङ माया शेर्पा, ङिमा याङजी शेर्पा, पासाङ नुरू शेर्पा, पेमा ओङगेल शेर्पा, पेमा छोसाङ शेर्पा, छेतेन डोमा शेर्पा र छिरिङ किन्जु शेर्पा छन्।
नयाँ कार्यसमितिले सगरमाथा क्षेत्रको वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा पर्वतीय पर्यटनलाई दिगो बनाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
सन् १९९१ मा स्थापना भएको एसपीसीसी खुम्बु क्षेत्रको बढ्दो पर्यटनसँगै देखिएको फोहोर व्यवस्थापनको चुनौती समाधान गर्न स्थानीय बासिन्दाको पहलमा स्थापना भएको गैरनाफामूलक, गैरसरकारी संस्था हो। संस्थाको स्थापनामा तत्कालीन पर्यटन मन्त्रालय तथा डब्लूडब्लूएफ नेपालले प्रारम्भिक आर्थिक सहयोग गरेका थिए। एसपीसीसी सोलुखुम्बुको जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था हो।
सगरमाथा आरोहण र खुम्बु क्षेत्रमा पर्यटकको चाप बढ्दै गएपछि १९८० को दशकको अन्त्यतिर फोहोर व्यवस्थापन गम्भीर समस्या बनेको थियो। त्यसपछि स्थानीय समुदायलाई दीर्घकालीन प्रदूषण नियन्त्रणका लागि संगठित गर्दै एसपीसीसी गठन गरिएको संस्थाको इतिहासमा उल्लेख छ।
एसपीसीसीले अहिले खुम्बु पासाङल्हामु गाउँपालिकाका पाँचवटै वडा, सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका बस्ती, पदमार्ग र हिमालका आधार शिविरसम्म फोहोर व्यवस्थापनका काम गर्दै आएको छ। फोहोर संकलन, वर्गीकरण, ढुवानी तथा व्यवस्थापनसँगै वातावरणीय सचेतना र समुदायको सहभागिता बढाउने काम पनि संस्थाले गर्दै आएको छ।
त्यस्तै, सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सम्झौताअनुसार खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण मार्ग निर्माण तथा व्यवस्थापनमा समेत एसपीसीसीले भूमिका निर्वाह गर्दै आएको छ। आरोहण अनुमति जाँच, अवैध आरोहणको निगरानी र हिमालका आधार शिविरमा फोहोर व्यवस्थापन पनि संस्थाका प्रमुख जिम्मेवारीमा पर्छन्।

सन् २००३ सम्मकै अभिलेखअनुसार एसपीसीसीले १९९४/९५ देखि १९९७/९८ सम्म खुम्बु क्षेत्रबाट ७ लाख ६७ हजार ७ सय ७६ किलो फोहोर व्यवस्थापन गरेको थियो। सन् २०००/०१ मा मात्रै २ लाख १७ हजार २ सय ३८ किलो फोहोर संकलन गरिएको थियाे।
पछिल्लो समय संस्थाले परम्परागत फोहोर व्यवस्थापनभन्दा बाहिर गएर जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा समेत काम विस्तार गरेको छ। सन् २०२४ को थामेमा आएको हिमताल विस्फोटजन्य बाढीपछि एसपीसीसीले Project RISE अघि बढाउँदै हिमताल निगरानी, प्रारम्भिक चेतावनी प्रणाली, स्थानीय ज्ञान र समुदायमा आधारित विपद् व्यवस्थापनमा समेत काम थालेको जनाएको छ।
एसपीसीसीका अध्यक्षमा नवनिर्वाचित लामा काजी शेर्पा यसअघि पनि संस्थाको नेतृत्वमा रहेका थिए।






